काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभाबाट बजेट पारित गर्न नै समस्या देखिएको छ ।
जसपा नेपालको समर्थनबिना सत्तापक्षको राष्ट्रियसभामा बहुमत पुग्दैन, जसले गर्दा प्रतिनिधिसभाबाट पारित भएको बजेट राष्ट्रियसभामा समस्यामा पर्ने देखिएको हो ।
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा पर्नेछ । ५९ सदस्यीय राष्ट्रियसभामा २७ जना मात्र सांसद सत्तापक्षका छन् । राष्ट्रियसभाबाट बजेट पास गर्न ३० जना सांसद चाहिन्छन् । जसपाले साथ दिँदा मात्रै ३० सांसद पुग्थे । राष्ट्रियसभामा जसपाका तीन जना सांसद छन् ।
जसपाको साथ हुँदा बहुमत भएको सरकार राष्ट्रियसभामा अल्पमतमा पर्ने भएको छ ।
राष्ट्रियसभाको सबभन्दा ठूलो दल प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र हो । माओवादीका १७ सांसद छन् । नेकपा एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ सांसद विपक्षमा छन् । यसरी विपक्षमा हाल २६ सांसद छन् ।
राष्ट्रियसभामा तीन जना मनोनीत सांसद हुन्छन्, जसमा एक जना माओवादीका नारायणप्रसाद दाहाल हुन् । उनी राष्ट्रियसभाका अध्यक्ष छन् । अञ्जन शाक्य नेकपा एमालेको कोटामा राष्ट्रियसभा सांसद छिन् ।
त्यस्तै, नेकपा कालमा राष्ट्रियसभाका सांसद भएका वामदेव गौतम छन् । पछिल्लो समयमा गौतम पनि एमालेसँग सन्तुष्ट छैनन् । यस्तो अवस्थामा सरकार अल्पमतमा परेमा प्रतिनिधिसभाबाट पास भइसकेको बजेट राष्ट्रियसभामा फेल हुने सम्भावना छ ।राष्ट्रियसभामा अब जसपा नेपाल विपक्षी बेञ्चमा बस्ने दल नेता मृगेन्द्रकुमार सिंह यादवले बताए।