काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव ९० प्रतिशत जनसङ्ख्यालाई खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव रहेको बताएका छन् । आर्थिक वर्षको बजेटमा सांसदले उठाएका प्रश्नहरूको जवाफ प्रतिनिधिसभा बैठकमा दिँदै मन्त्री यादवले सरकारको लक्ष्य पूरा गर्न बजेट र जनशक्तिको अभाव रहेको बताएका हुन् ।
‘९० प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव छ । बजेट नबढाए लक्ष्यमा पुग्न कठिन छ,’ मन्त्री यादवले भने । उनले अहिलेसम्म ९८ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी पुर्याएको र २८ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुगेको बताए ।
पछिल्लो समय सरकारको प्रयासले पानीजन्य रोगबाट हुने बाल मृत्युदर घटेको, मानिसको सरदर आयु बढेको र पर्यावरणीय सुधार भएको बताए । त्यस्तै सबैलाई शुद्ध खानेपानी उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री यादवले बताए । जनतालाई लाभ दिने खालका ठुला योजना समयमै टुङ्ग्याउन प्रतिबद्धता जनाए ।
बजेट अभावका कारण ढल प्रशोधन सङ्घ सरकारले मात्रै प्रचलनमा ल्याएको तथा प्रदेश र स्थानीय तहले ल्याउन नसकेको बताए । परिवर्तित जीवनशैली र तीव्र सहरीकरणले फोहोरको व्यवस्थापन गर्न ढल निर्माण आवश्यक छ, त्यसका लागि कार्य योजना बनिरहेको उनले बताए । मन्त्रालयलाई अहिले बजेटमा ३३ अर्ब ८९ करोड विनियोजन गरिएको छ ।