काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले सङ्गठित अपराध नगरेको तर सिङ्गो राज्यको दुरुपयोग गरेर आफूमाथि सङ्गठित अपराध भइरहेको बताएका छन् । रास्वपा स्थापना दिवसको अवसरमा भैरहवा कारागारबाट अपिल सन्देश पठाउँदै उनले चरम अन्यायको सिकार भई थुनुवामा रहेको उल्लेख गरेका छन् ।
उनले आफूमाथि निरन्तर सोधिने १० प्रश्नको जवाफ पनि अपिलमार्फत दिएका छन् । यस्ता छन् उनले आफूमाथि लागेका अभियोगबारे दिएका जवाफ :
१. आफू एमडी र सेयर धनी भएको कम्पनीमा कहाँबाट पैसा आयो भन्ने कुरा थाहा छैन भन्न मिल्छ ?
मैले थाहा छैन भनेको होइन, यो त मिडियाले भनेका हुन्। मैले त जीवी राईले कहाँबाट ल्याए त्यो चाहिँ थाहा छैन भनेको हुँ। गोर्खा मिडियाको आधिकारिक रेकर्डमा त्यहाँ आएको पैसा जीवी राईले दिएको सर्टट्रम लोन भनिएको छ । आधिकारिक अडिट रिपोर्टमा पनि त्यही उल्लेख छ ।
२. कम्पनीको जिम्मेवार व्यक्ति भएपछि कम्पनीमा आएको पैसाको जिम्मा लिनुपर्दैन ?
लिनुपर्छ । त्यसैले संसदीय छानबिन समितिले भनेअनुसार कम्पनीमा आइसकेपछि सो पैसाको खर्च र परिचालनमा जिम्मेवार र जबाफदेही भनेकै छु । सहकारीमा भएका कारोबार र क्रियाकलापमा म कसरी जिम्मेवार हुने ?
३. सहकारीबाट सोझै पैसा आएको छ रे, होइन ?
कुनै पनि सहकारीबाट मेरो खातामा एक पैसा पनि आएको छैन । म कुनै सहकारीको सदस्य, सेयर धनी, ऋणी, कर्मचारी केही पनि होइन ।
४. कम्पनीको एमडी सेयर धनी हुनुअघि नै कम्पनीमा तपाइँसहित तीन जनाको नाममा खाता खुलेको छ रे, हो ?
जीवी राई र छविलाल जोशीले गरेको सम्झौता बमोजिम म न्युज–२४ छोडी उनीहरूसँग सहकार्यमा आउँछु भन्ने सुनिश्चितताका लागि गोर्खा मिडियाको खाता खोलिएको हो, अन्य खाता होइन । सम्झौताअघि कुनै किसिमको कारोबार भएको छैन । सहकारीसँग त मेरो कुनै हिसाब–किताब र लेनदेन छँदै छैन ।
५. कम्पनी छोडिसकेपछि पनि सही गरेका चेकहरू छन् रे त ।
सही गरेका सबै चेकहरू सही गरेकै दिनमा साटिँदैनन् । कतिपय चेकमा दुईचार महिना पछाडिको मिति राखेर दिइन्छ । मेरै दुई महिनाको तलब बाँकी थियो । कम्पनी छोड्ने बेलामा चेक लिएको थिएँ, पछि खातामा पैसा भएको जानकारी पाएपछि भुक्तानी लिएँ । निजी क्षेत्रमा यो प्रचलित अभ्यास हो ।
६. तपाईंकै हस्ताक्षर भएका चेकमार्फत सहकारीमा भुक्तानी भएको रहेछ नि ?
मसँग भएको लिखित सम्झौताअनुसार कुनै पनि आर्थिक मामलामा मेरो हस्तक्षेप हुन सक्दैनथ्यो। मेरो क्षेत्राधिकार समाचार र कार्यक्रममा मात्र सीमित थियो । छविलाल जोशी देशबाहिर र जीवी राई निरन्तर यात्रामा रहने भएकाले हस्ताक्षर नगर्ने विकल्प मसँग थिएन । कार्य सहजताका लागि खाली चेकमा समेत हस्ताक्षर गरिन्थ्यो । सम्पूर्ण लगानी ल्याउने मान्छेलाई कुन चेक कसलाई किन दिएको भनेर प्रश्न सोध्ने मेरो नैतिक हैसियत थिएन । कुनै विवाद वा उजुरी नभएका कारण सोध्नुपर्ने आवश्यकता पनि भएन ।
७. सहकारीले निजी क्षेत्रमा लगानी गर्न पाउँदैन भन्ने कुरा तपाईं जतिको मान्छेलाई थाहा हुनुपर्दैन ?
मेरो कार्यकालमा बोर्ड बैठकबाट कुनै पनि सहकारीसँग ऋण लिने निर्णय वा सम्झौता भएको छैन। कुनै पनि सहकारीले बक्यौता वा किस्ता तिर्न सूचना र जानकारी पनि दिएको छैन। कम्पनीमा पैसा ल्याउने र बिल बिजक बमोजिम तिर्ने सम्पूर्ण कार्य जीवी राईको प्रत्यक्ष निगरानीमा उनका विश्वास पात्रहरूबाट मात्रै हुन्थ्यो । म कार्य सहजताका लागि हस्ताक्षरकर्ता मात्रै थिएँ, लगानीकर्ता होइन ।
८. तपाईंको नाममा गाडी छन् रे, सहकारीको सिस्टममा तपाईंको नाममा लोन छ रे नि !
मैले कहिँ पनि ऋण लिएको छैन । मेरो नाममा कुनै सवारी साधन पनि छैन । मैले लिएको भनिएका ऋणहरू सहकारीले आफैले मेरो नाम राखी खडा गरेका हुन्। मलगायत सयौँ मान्छेको नाममा यस्ता फर्जी खाता खोलिएका रहेछन् । जीसीएस सिस्टम भनेको उनीहरूको आफ्नै सिस्टम हो। अर्को पक्षको उपस्थिति, संलग्नता र हस्ताक्षर बिना आफैँले एक पक्षीय रूपमा जो कोहीको नाम इन्ट्री गर्न सकिने सिस्टममा जसले जे इन्ट्री गरे पनि हुन्छ । आफ्नो डायरीमा आफैँ लेखेर आफैँले राख्ने कुरा जस्तै हो। मेरो उपस्थिति कतै छैन। कतै मेरो निवेदन छैन, हस्ताक्षर छैन। सब फर्जी हुन्।
९. सहकारीबाट पैसा ल्याउने र टिभी खोल्ने सम्पूर्ण योजना तपाईंको र जीवी राईको हो रे भनेर छविलाल जोशीको बयान भन्दै मिडियामा आयो, के हो ?
न यो कुरा सत्य हो, न छविलालले बयानमा यस्तो भनेका नै छन्। यो मिडियामा मात्रै आएको कुरा हो ।
१०. तपाईँ जतिको मान्छेलाई लगानीको स्रोत के हो भन्ने कुरा थाहा हुनुपर्दैन ?
जीवी राईले हेटौँडामा रहेको जग्गा बेचेर टिभीमा लगानी गरेको भन्ने कुरा कम्पनीको आधिकारिक जानकारीमा उल्लेख थियो। पछि अनुसन्धान गर्दा पो उनले विभिन्न सहकारीबाट रकम अपचलन गरी ल्याएका रहेछन् भन्ने थाहा भयो । हिजो कुनै गुनासो नआउँदा उजुरी नपर्दा सहकारीहरूका खाता मैले कसरी हेर्नेहरु जीवीको व्यक्तिगत खाता कसरी हेर्ने ? यो त अनुसन्धान पछि न थाहा भयो। अनि, राज्य लागेर गरेको अनुसन्धानबाट सहकारीमा मेरो संलग्नता भेटियो त ? म कुनै सहकारीको सदस्य रहेछु त ? ऋण लिन दिएको रहेछु त मैले कुनै निवेदन ? कतै रहेछ त मेरो हस्ताक्षर ? त्यसैले यो राजनीतिक प्रतिशोध हो, सिङ्गो राज्य मिलेर ममाथि गरेको सङ्गठित अपराध हो ।