काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले रास्वपा र राप्रपाको अवरोधकाबीच संसद् सञ्चालन गरिएको प्रति आपत्ति जनाएको छ । शनिबारको बैठकमा माओवादी सांसद माधव सापकोटाले निरकुंश शैलीमा बलजफ्ती संसद् चलाउनु उचित नभएको बताएका हुन् ।
‘निरकुंश शैलीमा बलजफ्ती संसद् चलाउने यो सुहाउँदो र उपयुक्त तरिका भएन,’ उनले भने, ‘यसले लोकतन्त्रलाई गिज्याइरहेको छ । हाम्रो संसद्को ओज र गरिमालाई बढाएन भनेर म दुःख व्यक्त गर्न चाहन्छु ।’
यस्तै उनले आर्थिक वर्ष २०८२/०८३ को बजेट १६ औँ योजनाको उद्देश्य र सोचसँग तालमेल नमिलेको बताएका छन् । ‘विकासको छलफल गर्दा अहिले हामी १६ औँ योजनालाई मार्गदर्शन मानेर विकास निर्माणका सबै बजेटका योजनाहरू सम्पादन गरिनुपर्ने हो । आज १० वटा विषयगत छलफलमा सहभागी छौँ । समग्र बजेटको ट्रेन्ड हेर्दा र विनियोजन गरिएका शीर्षकहरूको समेत छलफलमा भाग लिँदा के भन्न सकिन्छ भने १६औँ योजनाको उद्देश्य र यसको सोचसँग तालमेल मिलेको देखिँदैन ।’ उनले भने ।