काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरू अवलम्बन गर्ने बताएकी छिन् । परराष्ट्र मन्त्रालयमा शुक्रबार बसेको श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा उनले सरकार स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई उद्धार गर्ने तयारीमा रहेको बताइन् ।
बैठकमा इजरायल र इरानमा जारी युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारी बारे छलफल भएको थियो । बैठकमा श्रममन्त्री शरदसिंह भण्डारीले श्रम मन्त्रालय पनि त्यहाँ रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेको र स्वदेश फर्किन चाहनेको उद्धारका लागि सरकार तयारीमा लाग्नुपर्ने बताए । उनले हाल इजरायल जाने अन्तिम तयारीमा रहेकाहरूलाई श्रम स्वीकृति नदिइ रोकिराखिएको पनि बताए ।
जुन १३ मा इजरायल र इरानबीच युद्ध सुरु भएकै दिन परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् दुवै पक्षलाई अधिकतम संयमता अपनाउन र वार्ताद्वारा समस्या समाधान गर्न अपिल गरेको थियो । मन्त्रालयले दुवै देशमा रहेका नेपालीलाई नेपाली दूतावासहरूसँग सम्पर्कमा रहन अनुरोध गरेको थियो । मन्त्रालयले जुन १५ मा सम्पर्क विवरणसहितको ट्राभल एड्भाइजरी जारी गरी सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन पनि भनेको थियो ।