धनगढी । कैलाली जिल्ला कारागारमा एक कैदीको रहस्यमय मृत्यु भएको घटनामा प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथलाई पक्राउ गरिएको छ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले बताए ।
जेठ २९ गते डडेल्धुराबाट पक्राउ परेका पालीलाई ३० गते धनगढी ल्याइयो र अदालतमा उपस्थित गराएपछि असार १ गते कारागार चलान गरिएको थियो। तर, असार २ गते राति करिब १०:३० बजे बाथरुम नजिकै अचेत अवस्थामा भेटिएका पालीलाई सेती प्रादेशिक अस्पताल पुर्याइए पनि सोही राति उनको मृत्यु भएको थियो।
मृतककी पत्नी जानकी साउँदले कारागारभित्र योजनाबद्ध रुपमा कुटपिट गरी श्रीमानको हत्या गरिएको आरोप लगाएकी छन्। उनले कारागार प्रमुखसहित पाँच जनाविरुद्ध जाहेरी दिए पनि प्रहरीले बिहीबार सई नाथविरुद्ध मात्र जाहेरी दर्ता गरेको हो।