धनगढी। कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका– ५ का २८ वर्षीय हरिश पालीको उपचारको क्रममा मृत्यु भएको हो । उनी बैंकिङ कसुर मुद्दाका प्रतिवादी थिए ।
कैलाली कारागारका जेलर पदम तिमिल्सिनाले अचेत अवस्थामा भेटिएका पालीलाई सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।मृत्युको कारण स्पष्ट नभए पनि अस्पताल पुऱ्याउँदा पालीलाई उच्च ज्वरो र रक्तचाप निकै कम रहेको पाइएको तिमिल्सिनाले बताए ।
पालीको मुख, खुट्टा तथा शरीरका अन्य भागमा समेत चोटपटक र निलडाम देखिएपछि आफन्तले उनको हत्या भएको दाबी गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । उनको शव प्रादेशिक अस्पतालमा रहेको छ ।
पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना गरेको थियो ।
त्यही बेलादेखि फरार रहेका उनलाई कैलाली प्रहरीले यही असार १ गते पक्राउ गरेर कारागार चलान गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।