काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । शुक्रबार प्रतिनिधिसभामा जवाफ दिँदै उनले भने, ‘ अनुसन्धानमा मेरो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
मन्त्रीले जवाफ दिँदा रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संसदमा नाराबाजी गरिरहे । आफ्नो कार्यकालमा भिजिट भिसामा धेरै मानिस गए भनेर भाष्य सिर्जना गर्न खोजिएको उल्लेख गर्दै उनले भने, ‘भिजिट भिसामा केही समस्या छन् तर, यो समस्या मेरो कार्यकालमा सुरु भएको होइन ।’
आफ्नो विरुद्धमा षड्यन्त्रमूलक ढङ्गले आक्रमण गर्ने प्रयास भएको उनले बताए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका यसअघिका प्रमुख सहसचिव तीर्थ भट्टराईलाई अख्तियारले बोलाएको कुरा आफूले सञ्चार माध्यमबाट थापा पाएको उनले बताए । उनले भने, ‘यो काममा मेरो संलग्नता छैन ।’