काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक पूर्वाग्रहबाट प्रतिशोध साँधेर मुद्दा दर्ता गरेको भन्दै आपत्ति जनाएको छ।
पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीका पदाधिकारीसहितका नेताहरुसँगको छलफलपछि बोल्दै पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले षड्यन्त्रमूलक ढंगबाट अध्यक्ष नेपालमाथि प्रतिशोध साँधिएको बताए।
उनले आफूहरुको पार्टी सिध्याउनका लागि पहिलादेखि नै प्रयास हुने गरेको उल्लेख गर्दै अहिले पार्टी अध्यक्षलाई षड्यन्त्रमूलक ढंगबाट मुद्दा दायर गरिएको बताए। उनले षड्यन्त्रहरु पराजित गर्दै र प्रतिकार गर्दै अघि बढ्ने बताए। पार्टी अध्यक्षमाथि मुद्दा दायर गर्नु पार्टीलाई कमजोर बनाउने उद्देश्यप्रेरित रहेको बताए।
उनका अनुसार अध्यक्ष नेपालले सार्वजनिक पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य काम गरेका छैनन्। आजसम्मको उनको व्यवहार, कार्यशैलीले विभिन्न ओहोदामा पुग्दा पनि निष्कलंक छवि लिएर उनी फर्किएको उपाध्यक्ष ज्वालाको दाबी छ।
अदालतबाट सफाइ पाएर निस्किने विश्वास आफूहरुको रहेको उनले बताए। उपाध्यक्ष ज्वालाले मन्त्रिपरिषद्का नीतिगत निर्णयहरुमा अख्तियारले छानबिन गर्न पाउने बाटो खुलेको बताए। अध्यक्ष नेपालमाथि योजनाबद्ध रुपमा फसाउने उद्देश्यबाट चलाइएको उनको भनाइ थियो। उनले माधव नेपालले भ्रष्टाचार गर्यो भन्दा कसैले पनि नपत्याउने दाबी गरे। माधव नेपालको स्वच्छ छविबाट ईष्या गर्ने सत्तापक्षबाट षड्यन्त्रपूर्वक मुद्दा चलाइएको उनले बताए।