काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यतालिका छ । प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व
र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको लागि संसदीय समिति गठनको माग राख्दै संसद् अवरोध गर्दै आएकोले आजको बैठक कार्यसूचीमा प्रवेश गर्न पाउनेमा आशङ्का भने कायमै छ ।