काठमाडौँ । सुप्रिम सहकारी ठगी प्रकरणमा भैरहवास्थित जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूलाई काठमाडौंको डिल्लीबजार कारागारमा स्थानान्तरण गर्न आग्रह गरेका छन्।
उनको यो आग्रहसँगै आवश्यक प्रक्रिया अघि बढेको छ। यद्यपि अन्तिम निर्णय कारागार व्यवस्थापन विभागले गर्नेछ।सर्वोच्च अदालतले समेत थुनामै राख्ने आदेश दिएपछि उनको हिरासत बसाइ लम्बिने निश्चित भएको छ। यही पृष्ठभूमिमा, काठमाडौंमा रहँदा पार्टीका नेता तथा कार्यकर्ता र परिवारजनसँगको भेटघाट सहज हुने विश्वासका साथ लामिछानेले सरुवा चाहेको बुझिएको छ।
डिल्लीबजार कारागारलाई अक्सर ‘भीआईपी’ कैदीबन्दीको रोजाइको केन्द्रका रूपमा पनि हेरिन्छ। कारागार स्थानान्तरणका लागि लामिछानेले जिल्ला अदालत, रुपन्देहीबाट अनुमति लिइसकेका छन् भने जिल्ला प्रशासन कार्यालयले पनि स्वीकृति प्रदान गरिसकेको छ।
सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी कारागार प्रशासनले फाइल अन्तिम स्वीकृतिका लागि कारागार व्यवस्थापन विभागमा पठाएको कारागार स्रोतले जनाएको छ। बुटवलको सुप्रिम सहकारीको रकम अपचलन तथा संगठित अपराधको कसुरमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्न दिएको आदेश उच्च अदालतले बदर गरिदिएको थियो। जसलाई पछि सर्वोच्च अदालतले समेत सदर गरेको थियो।