काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ गते काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका छन् । आइतबार बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै र राजावादीको आन्दोलनलाई समेत लक्षित गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।
राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्त्वहरू सलबलाउँदा एमालेहरूको मनोबल गिर्न नहुने उल्लेख गर्दै ओलीले लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरूले फैलाउने भ्रम चिर्न आग्रह गरे ।
अध्यक्ष ओलीले प्रतिगामीहरूले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिए । ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ’, अध्यक्ष ओलीले भने, ‘कसरी कुन संस्था अगाडि लाग्छ, त्यसलाई छाड्दिनुस् । आन्दोलनमा प्रोटोकल सोर्टकलका कुरा हुँदैन । सबै एकैतिर अघि बढ्ने ।’ उनले राजावादीहरू कुनै महान् उद्देश्यका लागि लडिनरहेको पनि बताए ।