काठमाडौँ । गण्डकी प्रदेशका सांसद विकल शेरचनले राजीनामा दिने चेतावनी दिएका छन् । शनिबार राती राजीनामाको नमुना सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेर आफ्ना माग पूरा नभए राजीनामा दिने बताएका हुन् ।
मुस्ताङ जिल्ला र दुर्गम क्षेत्रका जनताका आवश्यकतालाई सम्बोधन गर्न प्रदेश सरकार असफल भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा राजीनामाको नमुनापत्र राख्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
शेरचनले मुस्ताङ जस्तो संवेदनशील, भौगोलिक रूपमा जटिल र सम्भावनायुक्त जिल्लालाई प्रदेशको प्राथमिकतामा राखिनु पर्ने भए पनि बजेट निर्माण प्रक्रियामा बारम्बार यस जिल्लालाई पछाडि पारिएको आरोप लगाएका छन्।
पूर्वाधार, आर्थिक सशक्तिकरण, उच्च हिमाली स्वास्थ्य जोखिम, जलवायु अनुकूलन, र युवाका अवसरहरू जस्ता विषयमा ठोस योजना ल्याउने आफ्ना आग्रहहरूलाई बेवास्ता गरिएको उनको भनाइ छ। उनी नेपाली कांग्रेसको तर्फबाट मुस्ताङ ख बाट निर्वाचित भएका हुन् ।