काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरेको छ। शनिबार जारी एक विज्ञप्तिमा रास्वपाले हालै 'भिजिट भिसा'को नाममा भइरहेको मानव तस्करी प्रकरणमा गृहमन्त्री र उनका सचिवालयको संलग्नता सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल राजीनामा दिन गृहमन्त्रीलाई आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएको छ, 'विगतमा सांसद रमेश लेखकले नै सदनमा, 'प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छू भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं ।' साथै यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सरकारलाई सुझाव दिएको छ ।
