काठमाडौं । गृहमन्त्री रमेश लेखकले ‘भिजिट भिसा’ प्रकरणबारे मन्त्रालयले वक्तव्य जारी गर्ने बताएका छन् ।
नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयमा शनिबार कार्यकर्ताहरूसँगको छलफलका क्रममा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा हुने ‘भिजिट भिसा’ सेटिङबारे मन्त्रालयले प्रष्ट पार्ने बताएका हुन् ।
‘ट्वीटरमा लेख्ने के–के काम भइरहेका छन् । म दुई–तीन दिन चुप लागेर किन बसेको थिएँ भने यो कहाँबाट किन भइरहेको छ भन्ने खोजिराखेको थिएँ,’ गृहमन्त्री लेखकले भने, ‘धेरै कुरा मैले थाहा पाइसकेँ । आज म यहाँ कार्यक्रमबाट गइसकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ ।’
उनले दुई–चार दिनपछि आफू पनि बोल्ने जानकारी दिए । ‘दुई–चार दिनमा म आफैं पनि केही कुरा बोल्छु,’ गृहमन्त्री लेखकले भने, ‘त्यसकारण म अहिले धेरै बोल्दिनँ । यसमा चिन्ता लिनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन ।’
‘भिजिट भिसा’ प्रकरणमा नाम मुछिइरहँदा उनले आफूबाट पार्टीको मन सानो हुने र टाउको निहुरिने काम नगरिने प्रष्टिकरण दिए ।