काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गत चैत ६ गते बसेको प्रतिनिधिसभा बैठकमा तत्कालीन गृहमन्त्री रवि लामिछानेतर्फ ईंगित गर्दै यसो भनेका थिए, ‘यसै सदनले यसभन्दा पहिला स्थापित गरिसकेको छ कि कुनै पनि माननीय मन्त्री यदि कुनै अनुसन्धानको घेरामा आउनुभयो, प्रश्न उठ्यो, राज्यको कुनै निकायले यदि अनुसन्धान गर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी पदमा रहन पाउनुहुन्न, रहनुहुन्न । त्यसकारण गृहमन्त्रीले राजीनामा गर्नुपर्छ ।’
तर अहिले तीनै बोली लेखकका लागि ‘गलपासो’ बनेको छ । उनले पूर्व अर्थमन्त्री डा. रामशरण महत, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पूर्व अर्थमन्त्री जनार्दन शर्माको नामै लिएर संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापती लामिछानेलाई नैतिकता सिकाउने लेखक अहिले आफै नैतिकता देखाउलान या के गलार्न भन्ने प्रश्न उठ्न थालेको छ । कारण हो ‘भिजिट भिसा’ प्रकरण ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको गृहमातहतको अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकसमेत ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका छन् ।
गृहमन्त्री लेखकले तत्कालीन अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए । विवादास्पद पृष्ठभूमिका भट्टराईलाई पठाएलगत्तै अध्यागमनमा ‘भिजिट भिसा’ को सेटिङ बढेको थियो ।
अख्तियारले छापा हान्ने तयारी गरेको सुइँको पाएपछि गृहले मंगलबार साँझ भट्टराईलाई जोगाउनका लागि अध्यागमनबाट हतार–हतार मन्त्रालयमा तानेको थियो ।तर, सरूवाको रमाना पत्र नबुझ्दै सहसचिव भट्टराई अख्तियारको अनुसन्धानमा तानिएसँगै गृहमन्त्री लेखकको पनि नाम जोडिएको छ । अध्यागमनका कर्मचारीले गृहमन्त्रीको सचिवालयका सदस्यसहितको सेटिङमा ‘भिजिट भिसा’ मा खाडी मुलुक जानेहरूसँग जनही ५० हजार रुपैयाँ र विकसित मुलुकतर्फ जानेसँग ३ लाख रुपैयाँसम्म असुलिएको आरोप लागेको छ । अध्यागमन कार्यालयले सेटिङमा दैनिक ५० लाखसम्म उठाउने गरेको र उक्त रकम गृहमन्त्रीको सचिवालयका सदस्यहरूसम्म पुग्ने गरेको खुलेपछि अख्तियारले छापा हानेको थियो ।
‘भिजिट भिसा’ मा जानेहरूबाट करोडौँ रकम उठाएको भनिएको प्रकरणमा मुछिएपछि गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता मधु चौलागाईंले गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्चमा रिट लगेकी हुन् । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि गृहमन्त्री लेखकविरुद्ध उजुरी परेको छ ।युवराज सफलले शुक्रबार दर्ता गरेको उजुरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा नक्कली कागजातका आधारमा ‘भिजिट भिसा’ जारी गरी लाखौं रुपैयाँ असुलेको दावी गरिएको छ ।
यता नेपाली कांग्रेसकै नेता डा. शेखर कोइरालाले लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका छन् । तर चौतर्फी दबाबमा परेका गृहमन्त्री लेखक भने मौन बसेका छन् ।