काठमाडौं । भिजिट भिसामा जानेहरूबाट दैनिक ५० लाखदेखि एक करोड रूपैयाँसम्म उठाएको प्रकरणमा गृह मन्त्री रमेश लेखक र उनको सचिवालयका सदस्यहरू नै जोडिन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका १४ जना कर्मचारीको सरूवा गरिएको छ ।
गृहमन्त्रालयले विमानस्थल अध्यागमन कार्यालयबाट चारजना कम्प्युटर अपरेटर, नौजना नायब सुब्बा र एकजना सहायक कम्प्युटर अपरेटरको शुक्रबार सरूवा गरेको हो ।
भिजिट भिसामा जानेहरूबाट अवैध रकम असुलीसम्बन्धी ‘सेटिङ’मा संलग्न भएको गुनासो र उजुरीका आधारमा यो सरूवा गरिएको जिकिर गृहमन्त्रालयले गरेको छ ।
यसरी सरूवा हुनेमा नायब सुब्बा खुबराज श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक पठाइएको छ । अर्का नासु दत्त लामालाई जिल्ला प्रशासन कार्यालय जाजरकोट सरुवा गरिएको छ ।त्यसैगरि अर्का नासु गोविन्दप्रसाद अधिकारीलाई जिल्ला प्रशासन कार्यालय गोरखा पठाइएको छ ।
नासु तेजराज गौतमलाई जिल्ला प्रशासन कार्यालय बागलुङ सरूवा गरिएको छ । त्यसैगरी नासु सुवास केसीलाई रुकुम पश्चिम प्रशासन र कुवेरप्रसाद दाहाललाई जिल्ला प्रशासन कार्यालय धनकुटा सरुवा गरिएको खुलेको छ ।
त्यसैगरि प्रेमप्रसाद पौडेल र वीरभद्र जोशीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरुवा गरिएको छ । उता नरबहादुर थापालाई जिल्ला प्रशासन कार्यालय बाँकेमा पठाइएको छ । उनीहरू पनि नायब सुब्बा हुन्।
कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्याय तथा सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठको कारागार व्यवस्थापन विभागमा सरूवा गरिएको छ । उनीहरूलाई अब विभिन्न कारागार कार्यालयमा पठाइने छ ।विमानस्थल अध्यागनका कर्मचारीले गृहमन्त्रीको सचिवालयका सदस्यसहितकव सेटिङमा भिजिट भिसामा खाडी राष्ट्र जानेसँग २० देखि ४० हजारसम्म प्रतिव्यक्ति असुल्ने गरेका खुलेको छ । त्यसका लागि उनीहरूले कोड भाषा प्रयोग गर्ने गर्थे ।
त्यसैगरी युरोपेली राष्ट्र जानेसँग २ देखि ३ लाखसम्म प्रतिव्यक्ति उठाउने गरेको खुलेको छ । अध्यागमन कार्यालयले सेटिङमा दैनिक ५० लाखसम्म उठाउने गरेको र उक्त रकम गृहमन्त्रीको सचिवालयका सदस्यहरूसम्म पुग्ने गरेको खुलेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा हानेको थियो ।