काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्थगित मन्त्रिपरिषद् बैठक मंगलबार अपरान्ह ५ बजेका लागि बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज (मंगलबार) छलफल भएपछि मन्त्रिपरिषद बैठक बोलाइएको हो । सोमबार देउवा भेट्न बालुवाटार नआएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक स्थगित गरेका थिए।
नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले सत्तारुढ कांग्रेस– एमालेका शीर्ष नेताहरूबीचमै अविश्वास गहिरिएको छ । गभर्नर नियुक्ति गर्ने भनिएको सोमबारको मन्त्रिपरिषद् बैठक नै प्रधानमन्त्री ओलीले स्थगित गरिदिएपछि कांग्रेस सभापति देउवा असन्तुष्ट भएका छन्। उनी प्रधानमन्त्रीले बोलाउँदा पनि सोमबार बालुवाटार गएनन । गभर्नर नियुक्तिको प्रक्रियामा चरम राजनीति गरेका दुई दलका शीर्ष नेताहरू दुई महिनादेखि यही विषयमा अल्झिएका छन्। कांग्रेसले योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलको नाम सिफारिस समितिमार्फत अगाडि सारेको छ ।