धनगढी । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई मन्त्री नियुक्त गरेका हुन्।
पूर्व भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रहेका चौधरीले सरकार फेरिएपछि पद गुमाएका थिए। विवादित अडियोका कारण लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि नागरिक उन्मुक्ति पार्टीको मन्त्रीको एक कोटा खाली थियो। वन मन्त्री नियुक्त भएका चौधरीको साँझ ५ बजे शपथग्रहणको तयारी रहेको प्रदेश प्रमुख नजिर मियाँको सचिवालयले बताएको छ।
तर यता उनको शपथ रोक्न सुदूरपश्चिमका प्रदेश प्रमुखलाई निवेदन दिईएको छ । नागरिक उन्मुक्ति पार्टीकै प्रदेश सभा सदस्य खुशीराम डगौरा थारूले रामेश्वरलाई मन्त्रीको शपथ नगराउन प्रदेश प्रमुखसँग गुहार मागेका छन्।
पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले भने प्रदेश संसदीय दललाई लिखित पत्र पठाउँदै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कैलाश चौधरीलाई पठाउन निर्देशन दिएकी थिइन् । उक्त निर्देशन विपरीत संसदीय दलले रामेश्वरलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।