काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मातृभूमि जागरण अभियानका संयोजक भीमबहादुर रावललाई आफ्नो पार्टीमा जोडिनको लागि आग्रह गरेका छन् ।
पार्टीको अभियान लिएर अछाम पुगेको बेलामा प्रचण्डले रावललाई राजनीतिक सहकार्यको प्रस्ताव राखेका हुन् ।
उनले भीम रावलसँग पनि फोनसम्वाद भएको जानकारी दिए । भीम रावलसँगको कुराकानीबारे दाहालले भने,‘म यहाँ आउँदैगर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, मैले हिजोमात्र फोनमा कुरा गरेको थिएँ । उहाँले कार्यक्रम सफलताको शुभकामना पनि भन्नुभएको थियो, मैले तपाईं हामी बसेर कुरा गर्नुपर्ने ठाउँमा तपाईं को-को सँग कुरा गरिराख्नुभएको छ भनेको छु ।’
दाहालले भीम रावललाई अन्त कतै भौतारिन नहुने भन्दै आफूहरुसँग सहकार्यको लागि आउन दाहालले पूनः आग्रह गरेका थिए । सो क्रममा प्रचण्डले आफूहरुले सरकारको नेतृत्व गर्दा देशमा सुशासन कायम भएको दाबी गरेका छन् । उनले कांग्रेस र एमालेले माओवादीलाई सरकारमा नपुर्याएको बरु जनताले सरकारको नेतृत्व्मा पुर्याएको दाबी गरे ।