काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भइरहेको शंका व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको शंका गर्दै यही कारण गभर्नर नियुक्तिमा पनि चलखेल भइरहेको हुनसक्ने आशंका गरे ।
कोइरालाले गत महिना मात्रै करिब २ खर्व रेमिट्यान्स भित्रिएको तथ्याङ्क रहेको र वैदेशिक रोजगारमा जाने व्यक्तिले पठाउँदा पनि उक्त रेमिट्यान्स सम्भव नदेखिएको बताएका हुन् ।
यही कारण राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भएको हुन सक्ने उनको भनाइ छ । कोइरालाले सभापतिसँग कुरा गर्दा राम्रै मान्छे गभर्नर नियुक्ति हुने जानकारी गराएकाले आफू ढुक्क रहे पनि देशमा कतै गडबड त भइरहेको छैन भन्ने चिन्ता भने रहेको उल्लेख गरे ।
उनले संविधानमा गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने उल्लेख रहे पनि अहिले गभर्नरको विषयमा संविधानलाई मिच्ने काम भएको जिकिर गरे । त्यस्तै कोइरालाले सुशासन र भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा देशमा दण्डहीनता बढ्दै गएकाले जनतामा असन्तुष्टि देखिएको बताए । उनले पैसाको लेनदेन गर्ने व्यक्ति जेल जाने र पैसा लिने प्रदेशको सांसदले उन्मुक्ति पाउनु दण्डहीनताको पराकाष्ठा भएको जिकिर गरे