धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको जिम्मेवारी फेरि खगराज भट्ट पाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारीको उपस्थितिमा डडेल्धुरामा बसेको संसदीय दलको बैठकले दलको नेतामा भट्टलाई पुर्नवहाली गर्दै निरन्तरता दिने सर्वसम्मत निर्णय गरेको हो ।
बैठक माओवादी केन्द्र बैतडीको पाटनबाट सुरु गर्न लागेको ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग’ अभियानको उद्घाटनको पूर्वसन्ध्यामा बसेको थियो । उक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरू सहभागी थिए ।
यसअघि २०८० माघ १२ गते खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो । तर, त्यसबेलादेखि अध्यक्ष दाहालले संसदीय दलको नेतृत्व फेरबदल गर्न निर्देशन दिँदै आएका थिए । उनका लिखित र मौखिक निर्देशनहरू पटकपटक बेवास्ता भएपछि अन्ततः दाहालले आफैं डडेल्धुरा पुगेर नेतृत्व परिवर्तनको निर्णय गराएका हुन् । यो संगै सुदूरपश्चिममा माओवादी विवाद टुङ्गिएको छ ।