काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत मुछिएको काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको करिब सवा अर्ब रुपैयाँ बचत ठगी प्रकरणमा सांसद राईलाई मुद्दा चलाइएको हो । गत वैशाख १३ गते काठमाडौंबाटै पक्राउ परेकी उनीविरुद्ध जिल्ला जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।
भोजपुर घर भएकी सांसद राईविरुद्ध सरकारी वकिलले सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाएको हो । सभापति शेरबहादुर देउवानिकट राई जनजाति क्लस्टरबाट कांग्रेस केन्द्रीय सदस्य छिन् ।
राईविरूद्ध ३७ लाख ३५ हजार ८४३ रुपैँया बिगो मागदाबीसहित पुरक अभियोजनमार्फत् मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । अब यस मुद्दामा उनलाई अदालतमा उपस्थित गराएर आजदेखि थुनछेक बहस थालिने भएको छ ।