काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर बन्ने चर्चामा रहेका डा.विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । नेपाल राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै अभिवक्ताद्वय प्रतीभा उप्रती र विशाल थापाले आज (मंगलबार) रिट निवेदन दर्ता गराएका हुन् ।
पौडेललाई राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल हुने रिट निवेदकको जिकिर रहेको छ । डा.पौडेल नेपाली कांग्रेसका नेता हुन् । कांग्रेसले उनलाई २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन १ बाट उम्मेदवार बनाएको थियो । पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकालसँग पराजीत भएका थिए ।