बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन्। गुरुङ सीके राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद हुन्।
लुम्बिनीका सभामुखसमक्ष मंगलबार उनले बुझाएको राजीनामामा देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको उल्लेख गरेकी छन् ।‘मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ’, उनले लेखेकी छन् ।
त्यस्तै सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको व्यहोरा उल्लेख छ।
राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु।’ जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको जानकारी दिए।