काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिचको एकता प्रक्रिया अनिश्चित बनेको छ ।
वैशाख १७ गतेका लागि एकता घोषणा कार्यक्रमको आयोजना गरिए पनि कार्यक्रम स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता प्रक्रिया भाँडिएको हो ।
सर्वोच्च अदालतको नक्कली पत्रको आधारमा चौधरीलाई प्रहरीले पक्राउ गरेर डिल्ली बजार कारागारमा राखिएको थियो । सर्वोच्च अदालतले नै पत्र अनधिकृत भएको बताएपछि उनलाई रिहा गरिएको थियो ।
उनी रिहा भएपनि दुई पार्टीबिच एकता सुनिश्चित भएको छैन । दुवै पार्टीका नेताहरूले एकता हुने निश्चित भन्दै आएका छन् । तर, एकता कहिले हुने कुराको जवाफ कसैले दिइरहेका छैनन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीका अध्यक्ष राउत व्यस्त भएको कारण एकता प्रक्रिया लम्बिएको बताइन् ।