काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी कर्ताहरुलाई आकर्षित गरेमात्रै देशको अर्थतन्त्रले लय समात्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार काठमाडौंमा आायेजना गरेको आर्थिक वर्ष २०८२/०८३ को पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रको मनोबल बढाउनुपर्ने र रोजागरी सिर्जनासँगै लगानीकर्तालाई आकर्षित गर्न जरुरी रहेको बताएका छन् । अर्थमन्त्री पौडेलका अनुसार वर्तमान सरकार निजी क्षेत्रका कुरा सुन्न र निजी क्षेत्रका समस्या समाधान गम्भीर रहेको बताए । उनले त्यसैले पनि वर्तमान सरकारले सरकार निर्माण भएसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आर्थिक सुधार सुझाव आयोग गठन गरेर अर्थतन्त्रका समस्या समाधान गर्ने प्रयास गरेको बताए । उनले अध्यादेशमार्फत विधेयक ल्याएर अर्थतन्त्रमा देखिएका समस्या समाधानको पहल गरेको उल्लेख गरे ।
अर्थतन्त्र चलायमान बनाउन बजेटबाट गर्न सकिने सम्बोधन बजेटका माध्यमबाट र कानुनका माध्यमबाट सम्बोधन गर्न सकिने विषयहरु कानुन निर्माण गरेर वा संशोधनका माध्यमबाट गर्ने बताए ।
उपप्रधानमन्त्री पौडेलले भने,’अहिलेको सरकार निजी क्षेत्रका कुरा सुन्नका लागि, निजी क्षेत्रका समस्या समाधान गर्नका लागि व्यघ्र छ । हामीसँग केही यस्ता कानूनी व्यवधानहरु छन्, ति व्यवधान नपन्छाइ निजी क्षेत्रलाई उत्साह भर्न सकिँदैन भन्ने ठम्याइका आधारमा केही कानून अध्यादेशका मार्फतबाट सम्बोधन गर्ने कोशिस गरेका छौँ । कानुन संशोधनको प्रक्रिया यति मात्रै पर्याप्त छैन, कानून संशोधनका कामहरु पनि जारी राख्छौँ, अरु निजी क्षेत्रका सम्बोधन गर्नुपर्ने मागहरुका सम्बन्धमा पनि हामीले ध्यान दिनुपर्छ र समग्र अर्थतन्त्रलाई गतिशिल बनाउन ध्यान दिनुपर्छ भन्ने हिसावले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग बनायौँ । तपाईंहरुको मनोबल नबढाइ र लगानी कर्ताहरुलाई आकर्षित नगरी, रोजगारी सिर्जना नगरी हाम्रो देशको अर्थतन्त्र अगाडि जान सक्दैन ।’
उपप्रधानमन्त्री पौडेलले निजी क्षेत्रले दिएका सुझावहरुलाई सम्भव भएसम्म सरकारले ध्यान दिने पनि बताए ।