काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले समाजवादी क्रान्तिको तयार गर्न खोज्दा घेराबन्दीमा पर्ने गरेको गुनासो गरेका छन् । २५औं निर्मल लामा स्मृति दिवसमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डलले राम्रो काम गर्न खोज्दा र राम्रो पार्टी बनाउन खोज्दा षडयन्त्रको सिकार हुनु परेको बताएका हुन् ।
उनले अहिले फेरि आफूले कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी, आदर्शन र निष्ठातिर लैजान लागेको बताउँदै उनले त्यसका लागि चुनौती धेरै भएको बताए ।
‘अहिले कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी, आदर्श र निष्ठातिर नै अगाडि लैजाने धेरै चुनौतीहरु छन्’, उनले अघि भने, ‘ती चुनौतीविरुद्ध लड्ने संकल्पसहित फेरि हाम्रो विचारलाई, मुद्दाहरूलाई, वर्गलाई समुदायलाई केन्द्रित गरेर हामी एकचोटि यथास्थिति भत्काउने र रुपान्तरणसहित समाजवादी क्रान्तिको तयारीमा लैजान खोजेका छौं ।’
तर, यसो गर्न खोजेवापत प्रतिक्रियावादी, संशोधनवादी र अवसरवादीहरुले घेराबन्दी गर्ने, भ्रम छर्ने, अनेक षडयन्त्रहरु गर्ने गरेको उनको भनाइ छ । यस्तो स्वभाविक रुपले भइरहने भन्दै उनले सकेसम्म इतिहासका राम्रा कामबाट प्रेरित भएर सचेत हुँदै अघि बढ्ने बताए ।