काठमाडौँ । संघीय संसद् अन्गर्गत प्रतिनिधिसभामा अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।तर संसदमा सांसदहरूको उपस्थिति कम दृखिन्छ । छलफलमा भाग लिने सांसदको उपस्थिति दुवै सदनमा नगण्य छ। आफ्ना धारणा राख्ने र बाहिरिने क्रमले नीति तथा कार्यक्रममाथिको छलफलमा संसदका कुर्सीहरू खाली देखिन्छ ।
प्रतिनिधिसभामा नीति कार्यक्रममाथिको छलफल सोमबारदेखि सुरु भएको हो । तर पछिल्लो तीन दिनको छलफलको अन्त्यसम्म नगण्य सांसद मात्र सभामा उपस्थित छन्। कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्ने अवस्थाबाहेक गणपूरक सङ्ख्या आवश्यक नपर्ने भएपछि सांसदहरू हाजिर गरेर र आफ्नो बोल्ने क्रमपछि बाहिरिने गरेका छन्।
सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा नीति कार्यक्रम पेश गरेका थिए । नीति कार्यक्रममा वैशाख २२ गतेबाट सभामा छलफल सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलको प्रस्ताव गरेसँगै प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबाट छलफल सुरु भएको थियो।
छलफल प्रारम्भमा संशोधनकर्ता ३६ जनाले धारणा राखेका छन् । संशोधनकर्तापछि अन्य १५ सांसदले पनि छलफलमा भाग लिएका थिए । त्यसपछिका बैठकमा सांसदहरूको उपस्थिति उल्लेख्य भए पनि छलफलका क्रममा सांसदको उपस्थिति निकै न्यून छ । नीति कार्यक्रमको छलफलमा शीर्ष नेताको उपस्थिति पनि न्यून छ । अन्य सांसद पनि उपस्थित हुने र फर्किने क्रम देखिन्छ।
प्रतिनिधि सभामा मङ्गलबार खाली सभामा नै नीति कार्यक्रम छलफल भएको थियो भने न्यून उपस्थितिमा छलफलको क्रम बुधबार पनि जारी नै रह्यो । बुधबार पनि शीर्ष नेताको पहिलो लहर खोली नै थियो ।