काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिएका छन् ।
सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तान युद्धले नेपालमा पर्ने प्रभावहरूका बारेमा समयमै छलफल अघि बढाउन सरकारसँग अनुरोध गगरे । यस्तै सांसद सर्वेन्द्रनाथ शुक्लाले नेपाल असंलग्न राष्ट्रका रूपमा रहँदै आएको तर आतङ्कवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता हुन आवश्यक रहेको बताए ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका एनपी साउदले पनि यो विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताउए । उनले केही दिनअघि पाकिस्तानी सैनिकले नेपाल भ्रमण गरेको विषयमा समेत उचित नरहेको बताए । छिमेकमा भएको घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलको नेपाल भ्रमण भएको उनको भनाइ छ ।
सांसद अमरेशकुमार सिंहले पनि पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डलको नेपाल भ्रमण अहिले उपयुक्त बेला नभएको बताए । सरकारले भने गएराति सुरु भएको भारत–पाकिस्तान युद्धबारेमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।
गएको अप्रिल २२ तारिखमा भारत प्रशासित जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेकोमा गएराति गोलाबारी नै सुरु भएको छ ।