काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभई छलकपटबाट फालिएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शाहीले कसैको राजनीतिक आस्थामाथि प्रहार गर्नु राम्रो नहुने बताएका हुन्।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिँदै रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न नसक्ने टिप्पणी गरे। प्रमुख सचेतक शाहीले भने ‘कसैको राजनीतिक आस्थामाथि ठाउँ ठाउँमा प्रश्न भएको छ। अघि यहाँ एक जना माननीयज्यूले भन्नुभयो। बाघ होइन भन्नुभयो। बाघ बाघै हो। रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन।’
उनले अहिलेका राजनीतिक दलहरूको जन्म विदेशमा भएको बताउँदै यसको प्रमाण राजदूत भइसकेका व्यक्तिको अभिव्यक्तिहरूबाट मिल्ने बताए। प्रमुख सचेतक शाहीले अहिलेको संविधान र व्यवस्था विदेशीहरूले ल्याइदिएको बताए।