धनुषा । नेकपा एमाले धनुषाको ८औँ जिल्ला अधिवेशनमा विवाद हुँदा कुर्सी हानाहान भएको छ । जिल्ला अध्यक्षमा उम्मेदवारी दिएका लक्ष्मीनारायण यादव समूहले आफ्नो टिमबाट उम्मेदवारी दिएका केही व्यक्तिको नक्कली हस्ताक्षर गरेर उम्मेदवारी फिर्ता गराएको र तोकिएको समयभित्र उम्मेदवारी नदिएका व्यक्तिको नाम उम्मेदवारको अन्तिम नामावली सूचीमा समावेश गरेको आरोप लगाउदै मतदान स्थलमै धर्ना बसेका थिए ।
त्यसपछि एमाले सचिव रघुवीर महासेठनिकट अध्यक्ष पदका उम्मेदवार भोला यादवका समर्थकहरूले शान्तिपूर्ण धर्ना बिथोल्न खोजेपछि कुर्सी हनाहान भएको थियो । लक्ष्मीनारायण यादव समूहका नेता उमाशंकर अरगरियाले अर्को समूहले निर्वाचनमा धाँधली गर्न खोजेको आरोप लगाए ।
२० वैशाखदेखि सुरु भएको एमाले धनुषा अधिवेशनमा दुई समूहबीच पदाधिकारीमा कुरा नमिल्दा निर्वाचनमा जाने विषयमा सोमबार मात्रै सहमति भएको थियो । सहमति अनुसार सोमबार राति उम्मेदवारी दर्ता भएको थियो ।
मंगलबार बिहान मतदान सुरु हुनुअघि नै विवाद भएपछि मतदान अनिश्चितकालका लागि स्थगित गरिएको एमाले धनुषाका नेता जानी खान मधेशीले बताए ।