काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार गठनका बेला भएको सात बुदे सहमति कार्यान्वयनमा सरकार चुकेको बताएका छन् ।
सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सात बुँदे सहमतिमा उल्लेख संविधानमा संशोधन, आर्थिक सुधार, भ्रष्टाचारलाई निर्मूल गर्ने, दण्डहीनताको अन्त्य, सुशासन कायम लगायतमा सरकार चुकेको बताए ।
उनले एमाले–कांग्रेसको दुईतिहाइ संख्याले नभई सदनका सबै दलका साथै सरोकारवालाको राय लिएर संविधानको पुनरावलोकन गर्नुपर्ने धारणा राखे ।
त्यस्तै कोइरालाले कांग्रेसभित्र कुनै समस्या नरहेको स्पष्ट पारे । आफूलाई वर्तमान सरकार ढाल्न लाग्यो भन्ने आरोप सत्य नभएको उनले बताए । कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताए ।
उनले दुई दलले बनाएको संयन्त्र आवश्यक नरहेको मात्रै आफ्नो भनाइ रहेको जिकिर गरे । संयन्त्र बनाउनुपरे सरकारभित्रैबाट बनाउन उनले सुझाव दिएका छन् ।