काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस एमालेको समर्थनमा बनेको केपी ओली नेतृत्वको सरकार पूर्णत असफल भएको दाबी गरेका छन्।
सोमबार आर्थिक वर्ष २०८२/८३ का लागि पेश गरिएको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै दाहालले सरकारले जनताका लागि केही गर्न नसकेको आरोप लगाएका हुन्। उनले जनताका लागि सरकार ढलिसकेको अनुभूति आफूले गरेको संसदमा सुनाए।
दाहालले अगाडि भने, ‘प्राविधिकरूपमा त सरकार अहिले ढलेको छैन । जनताका मनमा, म अहिले देशभरि घुमेर पनि आएको छु, मुख्यतः तराई–मधेसमा । जनताको मन मस्तिष्कमा यतिबेला नैतिकरूपमा भन्ने हो भने सरकार छैन, सरकार ढलिसकेको छ।’
सरकारको कार्यशैलीका कारण लोकतान्त्रिक प्रणालीमाथि नै प्रश्न उठेको विपक्षी दलका नेतासमेत रहेका दाहालले उल्लेख गरे। उनले भने, ‘प्राविधिकरूपमा त सरकार बलियो छ । सरकारको कार्यशैलीले जन्माएको असन्तुष्टिलाई प्रतिगमनतिर प्रतिक्रियावादीले लैजाने जमर्को गरेको देख्दै छौँ।’
प्रचण्डले सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्दै दुरगामी महत्वका योजनामा सरकारले कैची चलाएको दाबी गरे। उनले भने, ‘समृद्धि र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि, पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्रको विकास अनिवार्य हो, तर सरकारले यी क्षेत्रका दीर्घकालिन महत्वका योजनाहरु हटाइदिएको छ। मेक इन नेपाल र मेड इन नेपालको सोचलाई अघि सार्ने योजनाहरु हटाइए, जसले उद्यमशीलता र स्वरोजगारको प्रवद्र्धन गर्दथ्यो।’
प्रचण्डले सरकारको आर्थिक विकासको योजना माथि प्रश्न उठाउँदै भने, ‘तपाईंहरूले विकासको ढाँचामा कोर्स करेक्सन गर्ने कुरा गरेका थिए, तर कुन कार्यक्रमका लागि, कसको हितका लागि करेक्सन गरियोरु यी योजनाहरूको हटाउनु भनेको अर्थतन्त्रको स्थायीत्व र समृद्धिका लागि हानि गर्नु हो।’
दाहालले दुई तिहाइको अहंकार बेलुन जसरी फुटिसकेको दाबी गरे। उनले भने, ‘दुई तिहाइको अहंकारले लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाएको छ र त्यसको प्रतिबिम्ब नीति तथा कार्यक्रममा स्पष्ट देखिन्छ।’