काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आह्वान भएअनुसार आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बैठक बस्न लागेको हो ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र, प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाउने कार्यसूची रहेको छ ।बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसद सदस्यहरूको मनोनयन गर्ने छन् ।
यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।यसअघि संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो ।