काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिक्षकहरूले अघिसारेका मागलाई समेत सम्बोधन हुने गरी विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले शिक्षकहरूले राखेका मागलाई अध्ययन गर्दै त्यसलाई समेत सम्बोधन हुने गरी विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
यसका लागि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा रहेका सांसद डा. तोसिमा कार्की, सुमना श्रेष्ठ र शिशिर खनालको टिम बनाउने निर्णय भएको उनले बताए ।
त्यस्तै आगामी वर्षको नीति तथा कार्यक्रमका साथै बजेटको छलफलमा पनि प्रभावकारी ढंगले उपस्थिति जनाउने निर्णय बैठकले गरेको छ ।