काठमाडौँ । त्रिभुवन विमानस्थल खुल्नुअघि नियमित धावनमार्ग जाँच गर्ने क्रममा मरेको चरा भेटिएको छ । सोमबार राति फ्लाई दुबईको जहाजमा उक्त चरा ठोक्किएर आगो लागेको हुन सक्ने विमानस्थलका अधिकारीहरूले आशंका गरेका छन् ।
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार धावनमार्गमा भेटिएको चरा भँगेरा भन्दा केही ठूलो आकारको रहेको छ । तर कुन प्रजातिको चरा हो भन्ने एकिन नभइसकेको उनले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट १ सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाई दुबईको जहाज कोटेश्वरतर्फबाट उड्दै गर्दा कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इन्जिनमा आगोको लप्का देखिएको थियो । एफजेट–५७५ उडान नम्बरको जहाजका पाइलटले काठमाडौं विमानस्थलको टावरलाई आफ्नो जहाजको बायाँ इन्जिनमा आगलागी भएको जानकारी दिएका थिए ।
उनीहरूले टावरका एटीसीलाई जहाज एउटा इन्जिनको भरमा उचाइमा चढिरहेको तर आकस्मिक अवतरण गर्न काठमाडौंमै फर्किने बताए पनि पछि उक्त जहाज दुबई नै गयो ।नेपाली समय अनुसार राति दुई बजे उक्त जहाजले दुबईमा सफल अवतरण गरेको छ ।
सोमबार राति नै फ्लाई दुबईले दुबईबाट ‘चरासँग जहाज ठोकिएको’ जनाएको थियो । दुबई सरकारको मिडिया कार्यालयले जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै चरा ठोक्किएको दाबी गरेको छ ।