काठमाडौँ । एसीसी मेन्स प्रिमियर कपमा यूएईले कुवेतलाई १ सय ४३ रनको भारी अन्तरले हराएको छ ।
यूएईले दिएको ३ सय ७२ रनको विशाल लक्ष्य पछ्याएको कुवेत ३६ ओभर ३ बलमा २ सय २८ रन बनाउँदा अलआउट भयो । कुवेतका लागि सयद मोनिबले ६८ र परविन्दर कुमारले ५३ रन बनाए । बलिङतर्फ यूएईका जुनैद सिद्दिकी र कार्तिक मय्यप्पनले ३र३ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३ सय ७१ रन बनायो । यूएईका लागि वृत्य अरविन्दले १ सय ८५ र रोहन मुस्तफाले १ सय १८ रन बनाए । २४ रनमा ३ विकेट गुमाएको अवस्थामा अरविन्द र मुस्तफाले चौथो विकेटका लागि २ सय ७५ रनको साझेदारी गरेपछि यूएईले विशाल योगफल बनाएको हो । बलिङतर्फ कुवेतका शाहरुख कुद्दुस र परविन्दर कुमारले २र२ विकेट लिए ।
यो जितसँगै समूह 'बी'मा रहेको यूएईले महत्त्वपूर्ण २ अङ्क जोडेको छ । एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । हिजो मङ्गलवारदेखि सुरु भएको प्रतियोगिता आउँदो १८ गतेसम्म हुनेछ ।
प्रिमियर कपको समूह 'ए' मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।