काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ।
बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रियसभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती लगायतको ८ सदस्यीय टिम रुस प्रस्थान गरेको हो। प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने बताए।
उनले दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदानप्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरु उल्लेख हुने बताए।उनले भ्रमणमा ९ जना उच्चस्तरीय व्यक्तित्वहरुसँग भेट गर्ने कार्यसूचि रहेको बताए।
भ्रमण टोलीमा रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतमले दुई देशका संसदबीचको सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा भ्रमण हुन लागेको बताए। उनले रुसले राष्ट्रियसभाको प्रतिनिधित्व हुनेगरी उच्चस्तरको भ्रमण पहिलोपटक बोलाएको बताए।
उनले आफूहरु नेपाली जनताको सद्भाव बोकेर रुस प्रस्थान गर्न लागेको भन्दै नेपाली जनता, नेपाल सरकार, राष्ट्रियसभा संघीय संसदको सद्भावसमेत रुसमा व्यक्त गर्ने बताए। भ्रमण पूर्णरुपमा सफल हुने उनको विश्वास छ।
राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा रुस प्रस्थान गरेको ८ सदस्यीय भ्रमणकारी टोली वैशाख १२ गते दिउँसो स्वदेश फर्किने कार्यतालिका छ।