काठमाडौँ । हरित ऊर्जाको बजार विस्तारीकरण भन्ने नाराका साथ काठमाडौँमा आठौँ ऊर्जा सम्मेलन सुरु भएको छ ।
भोलिसम्म चल्ने सम्मेलनमा भारत, बङ्लादेश, भुटान, श्रीलङ्का लगायत ३० भन्दा धेरै देशका तीन सय जना अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी भएका छन् ।
यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारी, पावर ट्रेडिङ कम्पनी, विद्युत् उत्पादक, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनी, परामर्शदाता कम्पनीलगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरूको पनि सम्मेलनमा सहभागिता रहने आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान) ले जनाएको छ ।
ईपानका अनुसार सम्मेलनमा विद्युतको लागत कसरी घटाउन सकिन्छ भन्ने विषयमा विभिन्न देशको अनुभवका विषयमा पनि छलफल हुनेछ ।
सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर गर्ने ईपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।