काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा नीरक केसी विजयी भएका छन् ।
महासंघको कोषाध्यक्ष पदका लागि सोमबार प्रबलजंग पाण्डे र केसीबीच भएको प्रतिस्पर्धामा केसीले ३८ मत प्राप्त गरे । ७३ मतदाता रहेको कार्यकारिणी समितिमा ६८ मतदाताले मतदान गरेका थिए ।
त्यसमा पाण्डेले भने २९ मत पाए । ६८ मध्ये १ भोट बदर भएको प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए । ५ जना सदस्य भने अनुपस्थित थिए । महासंघको कार्यकारिणी समिति चयनपछि कोषाध्यक्षका लागि सदस्यहरूबाट एक जना चुनिने नियम छ ।
चैत २९ मा भएको महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधानबमोजिम चन्द्र ढकाल अध्यक्ष भएका छन् ।