काठमाडौं । सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच वैशाख १० को उपनिर्वाचनलाई फलदायी बनाउने सहमति बनेको छ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच उपनिर्वाचन केन्द्रीत छलफल भएको हो।
प्रधानमन्त्री प्रचण्डका सचिवालय सदस्य मनहरी तिमल्सिनाका अनुसार तनहुँ, चितवन र बारामा गठबन्धनका उम्मेदवारलाई कसरी जिताउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए ।
वैशाख १० मा तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ। सत्ता गठबन्धनबाट कांग्रेसतर्फ तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठ तथा बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। यसपटकको उपनिर्वाचनमा माअोवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले आफ्नो उम्मेदवार उठाएका छैनन्।
उनीहरूविरूद्ध रास्वपाले तनहुँ–१ मा अर्थशास्त्री डा.स्वर्णिम वाग्ले, चितवनमा रवि लामिछाने र बारा–२ मा पूर्वडीआइजी रमेश खरेललाई उम्मेदवार बनाएका छन्।
यस्तै नेकपा एमालेले तनहुँमा पूर्वआईजीपी सर्वेन्द्र खनाल, चितवनमा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने र बारामा पुरूषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ।