नबलपुर । नयाँ वर्ष २०८० को सुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ‘मौलाकाली केबलकार’ सञ्चालनमा आएको छ ।
गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरी निर्माण गरिएको केबलकार आजदेखि सञ्चालनमा आएको हो । नयाँवर्षको अवसर पारेर आजदेखि सेवा सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए ।
केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं ६ निवासी सय वर्षीया वृद्धा सरस्वती कँडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका छन् ।
केबलकारमार्फत मौलाकाली मन्दिरसम्म पाँच मिनेटमै पुग्न सकिनेछ । करिब दुई किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारले दुइतर्फी मूल्य रु पाँच सय ५० कायम गरिएको शाहले जानकारी दिए ।
उनका अनुसार केबलकारले तीनदेखि चार फिटसम्मका बालबालिकाका लागि रु तीन सय ३०, विद्यार्थीका लागि रु चार सय १५, ज्येष्ठ नागरिकका लागि रु चार सय १५ र फरक क्षमता भएकाका लागि रु दुई सय ७५ को टिकट दर राखेको छ । केबलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र तीन फिटभन्दा कमका बालबालिकाका लागि निःशुल्क सेवा दिने जनाएको छ ।
आइएमई समूहको प्रवद्र्धनमा करिब दुई वर्षअघिदेखि निर्माण सुरु गरिएको केबलकारले आजदेखि नियमित सेवा सुरु गरेको शाहले बताए । केबलकारको एउटा डब्बा (गोन्डुला)मा एक पटकमा आठ जना यात्रु चढ्न सक्ने व्यवस्था रहेको भन्दै शाहले केबलकारबाट पाँच मिनेटमा मन्दिर पुगिने बताए ।