काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (नेउवाम) को ५७औँ साधारणसभा आज सुरु हुँदैछ । याक एण्ड यती होटलमा हुने उद्घाटन समारोहपछि महासंघका पदाधिकारीको चुनाव भने २९ चैतमा प्रज्ञा प्रतिष्ठानमा हुनेछ । महासंघले नयाँ वर्षसँगै नयाँ कार्यसमिति बनाउनेछ ।
विधानतः महासंघमा ६४ जनाको कार्यसमिति हुनेछ । अहिले महासंघमा अध्यक्षबाहेकका पदमा निर्वाचन हुन लागेको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानको व्यवस्था रहेका कारण अहिले वरिष्ठ उपाध्यक्षको चुनाव हुँदैछ ।
महासंघको इतिहासमा पहिलोपटक तीन जना वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवार भएका छन् । त्यसले महासंघको चुनावी माहौल निकै रोचक बनाएको छ । अहिले वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई प्रतिस्पर्धा गर्दैछन् ।
त्यसैगरी, उपाध्यक्षमा उमेशलाल श्रेष्ठको समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल, एसोसिएटतर्फबाट भरत आचार्य र जिल्ला नगरतर्फबाट भने दिनेश श्रेष्ठ उम्मेदवार भएका छन् । महासंघको जिल्ला नगर उपाध्यक्षमा उमेशलाल श्रेष्ठको समूहबाट हाल जिल्ला, नगर उपाध्यक्ष रहेका दिनेश श्रेष्ठले दोहोरिन चाहेका कारण पुनः उम्मेदवारी परेको हो ।
दिनेश श्रेष्ठले संघाईको समूहका सुरकृष्ण वैद्य र अञ्जन श्रेष्ठ समूहका अरुणराज सुमार्गीसँग प्रतिस्पर्धा गर्नेछन् । अञ्जन श्रेष्ठको समूहबाट मनिषलाल प्रधान र संघाईको समूहबाट सकुन्तलाल हिराचन उम्मेदवार छन् । अनि, एसोसिएटतर्फ भने भरतराज आचार्य दुईवटा समूहको उम्मेदवार भएका छन् । उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको समूहमा रहेका आचार्यले संघाई समूहका जोत्सना श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन् ।
जोत्सनाले अञ्जन श्रेष्ठको समूह छोडेर संघाईको समूहका गएर उम्मेदवारी दिएकी हुन् । अञ्जन श्रेष्ठको समूहले प्रवलजंग पाण्डेलाई उम्मेदवार बनाउन लागेको थियो । तर, पाण्डेले उम्मेदवार नदिने भएपछि अञ्जन श्रेष्ठ समूहले आचार्यलाई नै समर्थन गरेको हो ।
समूहगत प्रतिस्पर्धा भइरहेका बेलामा भावी अध्यक्ष तथा अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको ग्रिन सिग्नल कसलाई हुन्छ भन्नेले पनि उम्मेदवारीमा फरक पर्नेछ । अध्यक्षले आफूलाई काम गर्न सहज हुने टिम बनाउनका लागि तीन समूहमध्ये एउटा समूहका उम्मेदवारलाई ग्रिन सिग्नल दिनेछन् ।
चुनावी मैदानमा खटेका उद्योगी व्यवसायीहरूको भनाइमा ढकालले वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठलाई ग्रिन सिग्नल दिएका छन् । तर, ढकालले अन्य उपाध्यक्षको हकमा संकेत गरिसकेका छैनन् । केही पूर्वअध्यक्षहरू पनि विभाजित भइसकेका छन् ।
पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठ उमेशलाल श्रेष्ठको चुनावी कमाण्डर नै भएर लागेका छन् । त्यसैगरी, चण्डिराज ढकाल र पूर्वउपाध्यक्ष भाष्कराज राजकर्णिकार पनि लागेका छन् । उमेशलाल श्रेष्ठका लागि उनीहरू बानेश्वरको आनन्दभूमि होटलमा निरन्तर जम्मा भइरहेका हुन्छन् ।
त्यसो त, अञ्जन श्रेष्ठको हकमा पनि आनन्द मुल्मीसहितको टिम सक्रिय छ । संघाईलाई भने मारवाडी समुदायले सहयोग गरिरहेको छ । महासंघमा मूलतः मारवाडी समुदायभन्दा नेवार समुदाय बलियो मानिन्छ। मारवाडी समुदायमध्ये अधिकांश पूर्वअध्यक्ष विनोद चौधरीले लगेर उद्योग परिसंघ गठन गरेका छन् । त्यस कारण यो समुदाय महासंघमा कमजोर मानिन्छ ।
तर, यही समुदायबाट पछिल्लोपटक पशुपति मुरारका अध्यक्ष भएका थिए । त्यसपछिको अध्यक्षको लाइनमा संघाई लागेका हुन् । त्यसो त, संघाईले आर्थिक रूपमा पनि निकै खर्च गरिरहेका छन् । चुनावी खर्चमा भन्दा पनि मतदातामा लगानी बढाएका संघाई पनि बलियो उम्मेदवार भएको प्रतिनिधिहरू बताउँछन् । उनी, अहिले जिल्लाबाट आउने प्रतिनिधिहरूसँग निरन्तर सम्पर्कमा छन् ।
नेवार समुदायको बाहुल्य भए पनि योपटक दुई जना नेवार समुदायबाट उम्मेदवार छन् । त्यसमा पनि काठमाडौंबाहिरबाट अञ्जन श्रेष्ठ उम्मेदवार रहेका कारण उनले थप कडा मिहिनेत गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ । उनलाई मुल्मीसहितको समूहले सहयोग गरिरहेको भए पनि उनको समूहकै उम्मेदवार जोत्सना श्रेष्ठले छोड्नु र प्रवलजंग पाण्डेले उम्मेदवार हुन नमान्नुले उनलाई केही सकस परेको महासंघका प्रतिनिधिहरूबीच चर्चा भइरहेको छ ।
यता, महासंघको इतिहासमा पहिलोपटक वरिष्ठ उपाध्यक्षमा तीन जना उम्मेदवार भएका कारण चुनाव दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि छ ।