हेमजा । भोलिदेखि सुरु हुने ११ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पुरा भएको छ ।आयोजक विष्णुपादुका क्लबले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र भोलि बिहान १० बजे मिलन चोकबाट शोभा यात्रा निकालिने जनाएको हो ।
महोत्सवको गण्डकी प्रदेशका कृषि ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ ।महोत्सवमा प्रतिकिलो रु.३५ मा आलुको कारोबार हुनेछ भने करिब ४० टन आलु बिक्री वितरण हुने अपेक्षा गरिएको छ ।कुल एक सय २० वटा स्टल रहेकोमा करिब २५ प्रतिशत कृषि स्टल रहेको महोत्सवका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकारहरू प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बिउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम हुनेछन् ।त्यस्तै पोखरा महानगरपालिका कृषि महाशाखाले कृषक परिचयपत्र पनि वितरण गदैछ ।
महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार हुने, हेमजालाई व्यावसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न समूहमा व्यावसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरणा मिल्ने, क्लब भवन, तरकारी संङकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने लगायतका उद्देश्य पनि राखिएको छ ।
कोरोना भाइरसका कारण विगत ३ वर्षसम्म हुन नसकेको महोत्सवलाई यस वर्षदेखि क्लबले निरन्तरता दिन लागेको हो ।सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक भन्ने नाराका साथ महोत्सव गर्न लागिएको हो । महोत्सव वैशाख ३ गतेसम्म चल्ने छ ।