सुर्खेत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन पुरानो गठबन्धन बनेको बताएका छन् । शनिबार नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
द्वन्द्वबाट पीडितको मुक्तिका लागि पनि यही प्राकृतिक गठबन्धन उपयुक्त रहेको उनले बताए । सरकारसँग अवसर र चुनौती दुवै रहेको बताउँदै खड्काले अबको केही दिनमै सरकारले पूर्णता पाउने उल्लेख गरे ।
नेपाली कांग्रेसका उपसभापति समेत रहेका खड्काले अब कर्णालीको विकासका लागि केन्द्रबाट पर्याप्त बजेट पाउने समेत बताए । कर्णाली कोरिडोरलाई पहिलो प्राथमिकता रहेको बताउँदै उनले एकैपटक काम सक्ने गरी सबैसँग छलफल भइरहेको बताए । मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको र कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको खड्काको भनाइ थियो ।
उनले जनताको शिर झुक्नेगरि आफूले काम नगर्ने बताए ।प्रदेश सरकारबारे खड्काले सातै प्रदेशमा वर्तमान गठबन्धनकै सरकार बन्ने र कर्णाली प्रदेश सरकारमा कांग्रेस छिटै सरकारमा जाने बताए ।
चुनावको बेलमा कर्णालीमा आफू र प्रधानमन्त्री प्रचण्डले जनतामाझ गरेका बाचा र विश्वासलाई मर्न नदिने समेत प्रष्ट पारे । मतदाता र यो माटोलाई दिएको वचन पूरा गर्ने आफू प्रतिबद्ध रहेको बताए । उनले ठूलो परिवर्तनबाट देशमा शान्ति र संविधान बनेकाले स्थिरता र रक्षाका लागि बनेको गठबन्धन नभत्किने समेत बताए ।