काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमबाट भ्रष्टाचारका फाइल खोल्ने बुँदा हटाइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । सरकार भ्रष्टाचारविरुद्ध नरम देखिएको रास्वपाका प्रवक्ता मुकुल ढकालले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नयाँ नीति कार्यक्रमलाई राष्ट्रिय सहमतिको दस्तावेज भनेकोमा पनि रास्वपाको सहमति नरहेको उनले बताए ।
‘नयाँ नीति कार्यक्रम भ्रष्टाचारविरुद्ध नरम देखिएको छ । बलात्कारजन्य घटनाको छिटो छिनोफानो, बिजनेस इन्क्युबेसन सेन्टरहरू खोल्ने, गैरआवासिय नेपालीको लगानीलाई सहज बनाउने, डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने, डाटा सर्भरमा आत्मनिर्भर बन्ने, राष्ट्रिय परिचयपत्रको अवधारणालाई एक वर्षमा व्यवहारत लागू गर्ने लगायत विविध महत्त्वपूर्ण विषयहरू हटाइएका छन् । यसमा हाम्रो सहमति छैन’, उनले भने ।