काठमाडौँ । सरकारले कोशी नामकरण विरुद्धको आन्दोलन क्रममा निधन भएका पदम लिम्बू (लाजेहाङ)लाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।
शुक्रबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए। यस्तै‚ उनका परिवारलाई क्षतिपूर्ति दिने पनि निर्णय भएको उनले बताए।
कोशी प्रदेशको पुनः नामाङ्कनको माग गर्दै विराटनगरमा चैत ५ गते भएको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट लिम्बू घाइते भएका थिए उनको उपचारका क्रममा चैत १० गते निधन भएको थियो। लिम्बू कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान प्रान्तीय मञ्चका सचिवालय सदस्य थिए।
यस्तै‚ प्रदेशको पुनः नामाकरणलाई लिएर आन्दोलन गरिरहेका पक्षहरूसँग वार्ता गर्न सरकारले सहजीकरण गर्ने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेशा शर्माले जानकारी दिइन्। उनले भनिन्‚ “नामाकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ।”