काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले संघीय शिक्षा ऐन, संघीय कर्मचारी ऐनलगायतका महत्वपूर्ण ऐन निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले संघीय संसद्मा थारूको उचित प्रतिनिधित्व हुन नसकेकाले तत्काल ती ऐन ल्याउन आग्रह गरेका हुन् । यस्तै, सांसदहरुले प्रतिनिधिसभाको बैठकमा उठाइएका विषयको समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।
बैंक तथा वित्तीय संस्थाले मनलाग्दी तवरले ब्याज लिएर ऋणीलाई दुःख दिएको, किस्ता रोकिएकामा हर्जनासमेत जोडेर समस्यामा पारेकाले उनीहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताए ।
बैठकमा सांसदहरुले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन, सदनलाई विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराए। बैठकमा सांसदहरू रामनाथ अधिकारी, विद्या भट्टराई, तेजुलाल चौधरी, ईश्वरी घर्ती, ऐनबहादुर शाही, वासुदेव घिमिरे, शान्ति चौधरीललगायतले आ-आफ्ना धारणा राखेका थिए ।
दुई विधेयक टेबुल
प्रतिनिधिसभाको आजको बैठकमा दुई महत्वपूर्ण विधेयक टेबुल भएको छ ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका हुन् ।
यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘लोक सेवा आयोगको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन ९२०७८ साउन (२०७९ आसार) पेस गरे ।
यस्तै, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरे । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २४ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।