काठमाडौँ । सौराहामा हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड काटिएको छ । मंगलबार राति ४५ वर्षे हात्ती चञ्चलकलीको सुँड अज्ञात समूहले काटिदिएको हो ।
दीपेन्द्र खतिवडाको नाममा रहेको उक्त हात्ती युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाबाट सफारीका लागि प्रयोग हुँदै आएको छ । संस्थाका अध्यक्ष ऋषि तिवारीका अनुसार सुँड काटिएपछि हात्ती पीडाले कराएको थियो । हात्ती कराएपछि माउते थाहा पाएर उठेर सरोकारवालालाई खबर गरेका थिए ।
अहिले हात्तीको स्वास्थ्य अवस्था ठीकै रहेको र खाना खाइरहेको तिवारीले बताए ।अध्यक्ष तिवारीले प्रहरीले कुकुरको सहयोगमा घटनाको अनुसन्धान गरिरहेको पनि जानकारी दिए । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका ३५ वटा हात्ती निकुञ्जमा सफारीका लागि प्रयोग हुँदै आएका छन् ।